मुगु। भारी वर्षासँगै आएको बाढीले मुगुको छायानाथ रारा नगरपालिकास्थित गमगाढ साना जलविद्युत् आयोजनामा क्षति पुर्याएको छ। भारी वर्षासँगै गमखोलाबाट बालुवा र लेदो बगेर गमगाढ जलविद्युत् आयोजनाको नहरमा पस्दा विद्युत् सेवा अवरुद्ध बनेको हो ।
विद्युत् सेवा अवरुद्ध हुँदा यहाँका झन्डै ३ हजार परिवार अन्धकारमा छन् । दिउँसो नहर सफा गरे पनि राति लेदो र बालुवा भरिएर फेरि समस्या उत्पन्न हुने गरेको छ ।
नहरको लेदो र बालुवा सफा गर्दै हैरान भइसकेको स्थानीय बताउँछन्। विद्युत् सेवा अवरुद्ध हुँदा गमगढीसहित कार्कीबाडा, भामबाडा, ढुम, श्रीनगर, पिना, ताल्च, बालै, रुघा, थार्पलगायत दुई दर्जन बस्ती प्रभावित बनेका छन् ।
विद्युत् नहुँदा सरकारी तथा गैरसरकारी कार्यालयका साथै बैंक र वित्तीय संस्थाको नियमित कामकाज गर्न पनि कठिनाइ भएको छ ।