चितवन । ऊर्जा जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुषालले नारायणी नदीको तटबन्दको लागि २३ अर्ब रुपैयाँको गुरुयोजना रहेको जानकारी दिएकी छन् ।
सोमबार भरतपुर महानगरले आयोजना गरेको समृद्ध भरतपुर महानगरका लागि विकास बहस कार्यक्रममा बोल्दै मन्त्री भुसालले यस्तो बताएकी हुन् ।
उनले जलवायु प्रभावका कारण अहिले नारायणी र कर्णालीले क्षति पुर्याएको भन्दै नारायणी नदीको तटबन्दको लागि मात्र २३ अर्ब रुपैयाँको गुरुयोजना रहेको जानकारी दिइन् ।‘नारायणी नदीको १७ किलोमिटर तटबन्दको लागि ५ अर्ब छुट्याइएको छ’ उनले भनिन् । नारायणी नदीको तटबन्दको लागि यही चालू आव भित्र काम अघि बढ्ने मन्त्री भुसालको भनाइ छ ।
पम्फा भुषालले अब सबै खेती योग्य जमीनमा सिंचाईको सुविधा दिने समेत प्रतिबद्धता व्यक्त गरिन् ।कृषिमा आत्मनिर्भर बन्नपनि सिंचाई सुविधा अपरिहार्य भएको उनको भनाइ छ । ‘जहाँ खेतीयोग्य जमीन हुन्छ त्यहाँ सिंचाई सुविधा हुन्छ ।’ उनले भनिन् ।
उत्पादन बढाएर आत्मनिर्भर बनाउन र व्यापार घाटालाई सन्तुलनमा ल्याउन पनि सिंचाई सुविधा हुनुपर्ने उनको भनाइ छ । ‘सिंचाईका लागि मेरो विशेष ध्यान छ, यसले गरीबी न्यूनीकरण गर्न पनि मदत गर्छ’ उनले भनिन् ।