ओखलढुङ्गा। ओखलढुङ्गामा सौर्य मिनिग्रिडबाट १९१ घरमा विद्युत पुर्याइउको छ । सुनकोशी गाउँपालिका–९ को ककनी गाउँमा सौर्य मिनिग्रिडबाट एक सय ९१ घरमा विद्युत विस्तार गरिएको हो ।
ककनीमा ६ करोड ४२ लाख ८८ हजार नौ सय ३३ रूपैयाँको लागतमा स्थापना गरिएको सौर्य मिनिग्रिडबाट आइतबारदेखि विद्युत उत्पादन सुरु गरिएको छ ।
ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले मिनिग्रिड उद्घाटन गर्दै यस मन्त्रालय, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र नेपाल विद्युत् प्राधिकरणको सहकार्यमा देशका विकट क्षेत्रमा पनि उज्यालो बनाउने अभियानमा सरकार जुटेको बताए ।
ककनी महत्वपूर्ण धार्मिक एवं पर्यटकीय क्षेत्र भए पनि विद्युतको समस्या रहेकाले सौर्य मिनिग्रिड आयोजना सञ्चालन गरिएको उनको भनाइ थियो । त्यस अवसरमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका सहायक निर्देशक डा.लक्ष्मणप्रसाद घिमिरेले परियोजनाको विस्तृत विवरण प्रस्तुत गरे । उनले आँकलन गरेभन्दा निकै कम ऊर्जा खपत हुने देखिएकाले विद्युत उपभोक्तालाई ऊर्जाको उच्चतम् खपत गर्न लगाएर आर्थिकस्तर वृद्धि गर्न सुझाव दिए । ककनीमा विद्युत उपलब्ध गराएर एउटा महत्वपूर्ण अभिभारा पूरा गरिएको वडाध्यक्ष हितराज कार्कीले बताए ।
उज्यालो सुनकोशी अभियान थालेको स्थानीय सरकारले अघिल्लो कार्यकालमा रुद्र अधिकारीको नेतृत्वमा विद्युतीकरणको काम सुरु थियो । भौगोलिक विकटताका कारण केन्द्रीय विद्युत् विस्तार गर्न खर्चिलो हुने र तत्काल विद्युतीकरणको सम्भावना नहुने भएकाले वडा नं ९ का तत्कालीन वडाअध्यक्ष तथा ऊर्जा विकास उपसमितिका संयोजक झनककुमार कार्कीले सौर्य मिनिग्रिड स्थापनाको योजना बनाएर पहल गरे ।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको ९० प्रतिशत र गाउँपालिकाको १० प्रतिशत लागत गरी कूल ६ करोड ४२ लाख लाख ८८ हजार नौ सय ३३ को लागतमा मिनिग्रिड स्थापना गरिएको हो । मिनिग्रिड आयोजना २०७९ मङ्सिरदेखि सुरु गरिएको थियो ।