काठमाडौं। काठमाडौँ महानगरपालिकाले महानगरभित्रका निजी मार्ट, रेस्टुरेन्ट, सपिङ कम्प्लेक्स, अस्पताललगायत व्यावसायिक भवनले पार्किङ शुल्क लिएमा खबर गर्न सेवाग्राहीलाई आग्रह गरेको छ । महानगरपालिकाले त्यसका लागि सम्पर्क अधिकारीसमेत तोकेको छ।
काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले निजी व्यावसायिक भवनमा पार्किङ शुल्क नतिर्न सेवाग्राहीलाई आग्रह गर्दै त्यस्ता भवन सञ्चालकले पार्किङ शुल्क लिएमा सम्पर्क अधिकारी नगर प्रहरी निरीक्षक धर्म भण्डारीलाई तत्काल खबर गर्न आग्रह गरेका हुन्।
आर्थिक ऐन, २०८० ले सेवाग्राहीबाट पार्किङ शुल्क लिन नपाउने भनेर तोकिएका स्थानबाट शुल्क लिएको गुनासो आएपछि त्यस्ता गुनासालाई तत्काल सुनुवाइ गर्न सम्पर्क अधिकारी तोकी ऐन कार्यान्वयनलाई अगाडि बढाइएको महानगरले जनाएको छ।
कामपाको आर्थिक ऐनले निजी मार्ट, रेस्टुरेन्ट, सपिङ कम्प्लेक्स, अस्पताललगायत स्वास्थ्य सेवाप्रदायक संस्थाले सेवाग्राहीबाट सवारी पार्किङ गरेबापत शुल्क लिन नपाउने व्यवस्था गरेको छ । यो ऐन जारी भएदेखि महानगरपालिकाले अवधि तोकेर पार्किङ सुविधा उपलब्ध गराएका स्थानका लागि क्षेत्र तोकेर शुल्क निर्धारण भएको छ ।