दाङ। दाङमा एकै पटक नौ वटा पुल निर्माण हुने भएका छन्। उक्त पुल निर्माण गर्नको लागि आर्थिक वर्ष २०८०/८१ मा रू आठ करोड रकम विनियोजन गरिएको हो।
चालु आवका लागि जिल्लामा नौ वटा पुल निर्माण गर्ने योजनासहित बजेट विनियोजन गरिएको बताइएको छ। रिम, तिनतले र भाँगाबार खोलामा बेलीब्रीज निर्माणका लागि रू ५० लाखका दरले बजेट विनियोजन गरिएको छ ।
ट्वाङखोलामा डिपिआरसहित पक्की पुल निर्माणका लागि रू एक करोड ५० लाख, पुरन्धारा हुँदै मलै जाने सडकअन्तर्गत बबई नदीमा डिपिआरका लागि रू १५ लाख तथा बखरीया–सरुवाडाँडा–गोल्टाकुरी–कालितारा सडकमा पुल निर्माणका लागि रू एक करोड २५ लाख बजेट छुट्याएको छ।
तुलसीपुर–हापुर जोड्ने सडकअन्तर्गत तुलसीपुर–१ भमके खोलामा पुल निर्माणका लागि रू एक करोड, शान्तिनगर–३ पातेटाकुरा खोलाका लागि रू ७५ लाख, बौलाखोला माथिल्लो बाटोमा पक्कीपुल निर्माणका लागि रू एक करोड र बबई गाउँपालिकाअन्तर्गत राजीखरे खोलाका लागि रू ७५ लाख बजेट विनियोजन भएको बताइएको छ।
दाङको कर्णालीका रुपमा चिनिने गङ्गटे सडकअन्तर्गत हापुरे–गङ्गटे खण्डका विभिन्न खोलामा तीन पुल निर्माण हुन लागेका छन् ।