काठमाडौं। ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको प्रवर्द्धक अप्पर तामाकोसी हाइड्रोपावर कम्पनीको १५औं वार्षिक साधारणसभा आगामी भदौ ६ गते हुने भएको छ । कम्पनीको गत असार २८ गते बसेको सञ्चालक समितिको २७७औं बैठकको निर्णय बमोजिम यो मितिमा वार्षिक साधारणसभा हुने तय भएको हो ।
कम्पनीले मंगलबार सूचना सार्वजनिक गरी १५औं साधारणसभा भदौ ६ गते बिहान साढे ११ बजेदेखि नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा हुने सेयरधनीहरूलाई जानकारी दिएको छ । साधारणसभामा कम्पनीकोतर्फबाट अध्यक्षले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने र छलफल गरी पारित गर्ने कार्यसूची छ ।
यस्तै, लेखापरीक्षणको प्रतिवेदन सहित २०७९ असार मसान्तसम्मको वासलात तथा आर्थिक वर्ष २०७८/७९ को नाफा रनोक्सानको हिसाब, नगद प्रवाह विवरण तथा इक्विटीमा भएको परिवर्तन उपर छलफल गरी पारित गर्ने कार्यसूची राखिएको कम्पनीले जनाएको छ । साथै, आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षणका लागि लेखा परिक्षक नियुक्त गर्ने तय भएको छ ।