भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा शनिबार ‘भक्तपुरको पोखरी चिनौँ, सम्पदा संरक्षणमा अघि बढौँ’ भन्ने नाराका साथ सांस्कृतिक सम्पदा पदयात्रा भएको छ ।
ऐतिहासिक एवम् सांस्कृतिक नगरी भक्तपुरको भ्रमणमा आउने आन्तरिक एवं बाह्य पर्यटकहरूलाई नगरका विभिन्न स्थानमा छरिएर रहेका सम्पदाहरू (विशेष गरी पोखरीहरु) बारे परिचित गराउने र सम्पदा संरक्षण कार्यमा उत्साहित गर्ने उद्देश्यले उक्त कार्यक्रम गरिएकाे नगरपालिकाले जनाएकाे छ।
पर्यटन प्रवर्द्धनको लागि हुने सांस्कृतिक सम्पदा पदयात्रामा सरोकारवाला सबै पक्ष तथा नगरवासीहरूमा नगरपालिकाले उपस्थितिको लागि अनुरोध समेत गरेको छ । पदयात्रा भक्तपुर नगरपालिका वडा नं ९ स्थित लामग पुखु (पोखरी) बाट सुरु भएकाे थियाे। भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पदयात्राकाे उदघाटन गरे । त्यसपछि प्रमुखसहितको टोली पोखरीको परिक्रमामा गए।
टोलीले नगरभरिका वडा नं १ देखि १० सम्म रहेको विभिन्न पोखरीहरुको पैदल यात्राबाट भ्रमण गरे । पदयात्रा भक्तपुर नगरपालिका वडा नं १ स्थित न्हुः पुखु (रानी पोखरी) सल्लाघारीमा समापन भयाे । सांसद प्रेम सुवालको प्रमुख आतिथ्यमा कार्यक्रम समापन गरिएकाे जनाइएकाे छ । यो वीचमा विभिन्न साँंस्कृतिक प्रदर्शनी समेत गरिएकाे छ।