काठमाडौं। जुम्लाको गुठिचौर गाउँपालिका–५ कुम्डीमा रहेको नौमुले लघुजलविद्युत आयोजनाको मेसिन बिग्रिँदा चार गाउँ अन्धकार भएका छन्। गत मंगलबार दिउँसो १ बजेदेखि विद्युतगृहमा समस्या आउँदा उक्त वडाका चार गाउँ अन्धकार भएका हुन्।
व्यवस्थापक गणेशराज गिरिका अनुसार नौमुले लघुजलविद्युत गृहमा जडान गरिएको फित्ता चुडिएपछि विद्युत उत्पादन बन्द हुँदा चार गाउँ अन्धकार भएका छन्। विगत एक हप्तादेखि उपभोक्ताहरू अँध्यारोमा बस्न बाध्य भएका छन्। गुठिचौर गाउँपालिका–५ भित्रका कुम्डी, फोई, देपालगाउँ र धिता गाउँका उपभोक्ता अँध्यारोमा बस्न बाध्य भएका हुन्। विद्युत सप्लाइ गर्न अझै एक हप्ता लाग्ने गिरिले बताए।
फित्ता बाहिरबाट ल्याउनु पर्ने भएकाले पहल भइरहेको छ। गुठिचौर–५ का करिब ५ सय ५० घरधुरीका उपभोक्ता अँध्यारोमा बस्न बाध्य छन्। फित्ता भारतबाट ल्याउनु पर्ने भएकाले आउन समय लाग्ने देखिएको छ। गुणस्तरीय फित्ता ल्याउनुपर्ने स्थानीयको माग छ। विद्युत अवरोध भएपछि सरकारी र गैरसरकारी निकायका कामकाज प्रभावित भएका छन्, भने रेडियो गुठिचौर तथा मिल सञ्चालनमा समेत समस्या आएको गुठिचौर रेडियोका संचारकर्मी रामप्रकाश विकले बताए।
२०६९ सालदेखि सञ्चालनमा आएको ७६ किलोवाटको नौमुले लघुजलविद्युत आयोजनामा विगतमा बेला बेला समस्या आउने गरे पनि छिटै बत्ती बल्थ्यो। तर यसापालि भारतबाट फित्ता नआएसम्म बत्ती बाल्न सम्भव छैन।