हेटौँडा। पहिरोका कारण हेटौँडा काठमाडौँ जोड्ने २ वटा सडक अवरुद्ध भएको छ । वर्षाका कारण पहिरो खस्दा हेटौँडा काठमाडौँ जोड्ने छोटो दुरीको भैँसे भिमफेदी कुलेखानी काठमाडौँ सडक खण्ड र कान्तिलोक पथ अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार वर्षाका कारण भैँसे भिमफेदी कुलेखानी काठमाडौँ सडक खण्ड अन्तर्गत भिमफेदी गाउँपालिका–२ ज्यालटारमा पहिरो खस्दा सडक अवरोध भएको हो। पहिरोका कारण सडक बन्द हुँदा यातायातका साधन समेत रोकिएको छ।
त्यस्तै पहिरोका कारण कान्तिलोकपथ अवरुद्ध बनेको छ। पहिरोका कारण सोमबार रातिबाट सो सडक खण्ड अवरुद्ध भएको हो । वर्षाका कारण बकैया गाउँपालिका–११ लाम्राङमा पहिरो खस्दा सडक बन्द भएको हो।
कान्ति लोकपथ अन्तर्गतको सो स्थानको सडक खण्डमा पहिरो खस्दा दुवै तर्फी बाटो अवरोध भएको हो । दुवै स्थानको पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको भए पनि वर्षा भइरहेकाले पहिरो हटाउन समस्या भईरहेको बताइएको छ।