काठमाडौं। गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल ‘जीवन’ले पोखरामा आन्तरिक तथा बाह्य पर्यटकको बसाई लम्ब्याउन फेवाताल किनारका क्षेत्रमा ‘फुट ट्रयाक’ निर्माण गर्न आवश्यक भएको बताएका छन्। पोखरामा मंगलबार आयोजित कार्यक्रममा उनले फेवाताल वरपरका क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्यका रुपमा विकास गर्दै पूर्वाधार निर्माण गर्न आवश्यक रहेको बताएका हुन्।
उनले स्थानीयवासीलाई ऐतिहासिक पुरातात्विक बस्तुहरुको संरक्षण गर्न र आफ्नो थातथलो नछाड्न आग्रह गर्दै सडक लगायत आवश्यक पूर्वाधार निर्माण गर्न प्रदेश सरकारले पहल गर्ने बताएका छन्। नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश सचिवालय सदस्य समेत रहेका मन्त्री बरालले माओवादीको नेतृत्वबिना देशमा आर्थिक विकास र समृद्धि हासिल गर्न नसकिने साथै माओवादीसँग विचार र विकास निर्माण गर्ने दीर्घकालीन योजना रहेको दाबीसमेत गरेका छन्।
त्यसैगरी पोखरा महानगरपालिका वडा नम्बर २२ का वडा अध्यक्ष मित्रलाल बरालले कोरोनाले गर्दा सो क्षेत्रमा विकासका लागि बजेट व्यवस्थापन गर्न नसकिएको जानकारी दिएका छन्। यदि सो क्षेत्रमा थप पूर्वाधार विकास निर्माण गर्ने हो भने पहिलेको तुलनामा दोब्बर पर्यटकको संख्या बढ्न सक्ने विश्वास रहेको छ। पर्यटकका लागि पूर्वाधार निर्माण गर्ने हो भने आर्थिक क्षेत्रमा पनि सघाउ पुग्ने देखिएको छ।