कास्की । एक सय वर्ष पुरानो इतिहास बोकेका पोखराका बालधारा संरक्षणको अभावमा हराउँदै गएका छन् । शहरी विकास बढ्दै जाँदा एक सय वर्षभन्दा पुराना बालधारा कति अवशेष मात्र बाँकी छन् भने कति पक्कि घर र सडकले छोपिएका छन् ।
वि.सं.१९७६ सालमा तत्कालीन चिफ इन कमाण्डर बबर शमशेरले आफ्ना १४ वर्षे छोरा बाल शमशेरको आकस्मिक निधनपछि उनको स्मृतिमा पोखरामा १४ वटा बालधारा बनाएका थिए। कीर्तिपुरका बैकुण्ठलाल श्रेष्ठको डिजाइनमा बालधारा निर्माण गरिएको थियो । पोखरामा पहिलोपटक फलामको पाइपबाट पानी ल्याएर सार्वजनिक कलधारा निर्माण भएको बालधारा नै हो । २०२६ सालमा बालधाराको पानी रत्न मन्दिरमा जोडेपछि यसको पानी सुकेको थियो ।
यसरी लामो इतिहास बोकेका ऐतिहासिक सम्पदा संरक्षणमा कसैले चासो नदिँदा बालधाराको इतिहास नै मेटिने जोखिम बढेको छ । विकासका लागि भएका सडक विस्तारका कारण पनि बालधारा हराउँदै गएका हुन् । बालधारा संरक्षणका लागि केही मानिसले संरक्षण अभियान नै थालेका पनि छन् तर स्थानीय र सम्बन्धीत निकायले चासो नदिँदा उनीहरुको अभियान पनि सफल हुन सकेको छैन । बालाधार संरक्षणका अभियानकर्ता सुनिल उलकले आफूहरुले बालाधारा संरक्षणका लागि पोखराका बालधारा भएका प्रत्येक वडा, नगरमा समेत गएर कुरा गर्दा पनि कसैले नसुनेको दुखेसो गरे ।
नेपालको इतिहास बोकेका यस्ता ऐतिहासिक सम्पत्तिको पुनर्निर्माण र संरक्षणमा स्थानीयबासी र सरोकारबाला निकायको पनि उत्तिकै भूमिका हुन्छ । सबैले चासो दिएर यीनिहरुको संरक्षणमा नलाग्ने हो भने विस्तारै ऐतिहासिक सम्पदाको धनी भनेर चिनिने नेपालको पहिचान विश्वबाट विस्तारै नामेट हुने पक्का छ । त्यसैले यस विषयमा सबैले चासो दिनु जरुरी छ ।