काठमाडौं। सडक डिभिजन नेपालगञ्जले एक निर्माण कम्पनीसँग ठेक्का तोडेको छ। सडक डिभिजन नेपालगञ्जले गजुरमुखी निर्माण कम्पनीसँग ठेक्का तोडेको हो।
डिभिजनले आज (आइतबार) एक सूचना जारी गर्दै उक्त निर्माण कम्पनीसँग ठेक्का तोडिएको जनाएको छ। डिभिजनले गजुरमुखीले नेपालगञ्ज–गुलरिया सडक निर्माणको काम अलपत्र पारेपछि ठेक्का सम्झौता रद्द गर्न बाध्य भएको जानकारी दिएको छ। कम्पनीले उक्त सडक चार लेनमा विस्तार गर्न २०७४ चैतमा ठेक्का पाएको थियो। तर कम्पनीले पटकपटक म्याद थप गर्दा पनि काम सम्पन्न गर्न नसकेपछि ठेक्का तोडिएको डिभिजनले जनाएको छ।
कम्पनीले २१ करोड ४९ लाख रुपैयाँमा उक्त निर्माणको ठेक्का हात पारेको थियो। अब भने फेरि अर्को नयाँ टेन्डरको प्रक्रिया अगाडि बढाइने डिभिजनले जनाएको छ।
