काठमाडौं। पोखरा महानगरपालिका—९ मा कालोपत्रे गरिएको सडक एक महिना नहुँदै उप्किको छ। कालोपत्रे गरिएको सडक एक महिना नहुँदै उप्किएपछि गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्रीले चासो दिएका छन्।
पूर्वाधार विकास कार्यालय कास्की मार्फत गत आर्थिक वर्षमा रु १० लाख बजेटबाट निर्माण गरिएको पोखरा महानगरपालिका ९ पृथ्वीचोकको भित्र ट्राफिक कार्यालय हुदै नयाँ बजार जाने सडक कालोपत्रे गरिएको केही हप्तामै उप्पिकएको समाचार प्रकाशित भएको थियो ।
सो सम्बन्धमा विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशित भएपछि हिजो मन्त्री जुग्जालीले सो विषयमा चासो दिएका हुन् । भौतिकमन्त्रीले पूर्वाधार विकास कार्यालय कास्कीका प्रमुख डा महेन्द्र बानियालाई मन्त्रालयमा बोलाएर सडकको बारेमा बास्तविकता बुझेर जानकारी गराउन आग्रह गरेका छन्।
मन्त्री जुग्जालीले सडक निर्माणमा लापरवाही र गलत काम भएको भए तुरुन्त निर्माणमा संलग्न पक्षलाई कारवाही र भत्किएको सडक मर्मत गर्न निर्देशन दिएको मन्त्री जुग्जालीको सचिवालयले जनाएको छ ।