झापा। झापाको दमक नगरपालिकाले बनाउन लागेको दमक सपिङ्ग कम्प्लेक्सको काम रोक्न उच्च अदालतले आदेश दिएको छ।
दमक वडा ७ मा ४३ करोडभन्दा बढीको लागतमा निर्माण हुन लागेको कम्प्लेक्सको निर्माण स्थलको विषयमा विवाद भइ परेको मुद्दामा फैसला सुनाउँदै उच्च अदालतले काम रोक्न आदेश जारी गरेको हो।
पदमबहादुर माझीले उक्त जग्गा वर्षौंदेखि आफ्नो भएको दाबी गर्दै उच्च अदालत बिराटनगर, इलाम ईजालसमा जग्गा खिचोला चलन मुद्दा लगाएका थिए।
उक्त मुद्दामा गत साउन १७ गते न्यायाधीश गीताप्रसाद तिम्सिना र सोमकान्त मैनालीको संयुक्त इजालसले अन्तर्कालीन आदेश जारीगरी भौतिक संरचना निर्माण कार्य रोक्का गर्न आदेश दिएको छ।
नगरपालिकाले जग्गा खिचोला मेटाइ चलन चलाइ पाउँ भनि अन्तरकालीन आदेश बदर गर्न माग गरेपछि अन्तर्कालीन आदेश बदर हुने वा नहुने भन्ने सम्बन्धमा बिपक्षीलाई समेत झिकाइ छलफल गर्न मनासिव देखिनेभन्दै साउन १० गते अर्को फैसला गरेको छ ।
दमक नगरपालिकाको कानून शाखाका अनुसार अनावश्यक रुपमा किचलो झिकेर काम रोक्न खोजिएको भए पनि अदालतको आदेशअनुसार अहिले काम रोकिएको छ । दुबै पक्षलाई भदौ १० गते अदालतले बोलाएको छ ।
दमक नगरपालिकाको नाममा रहेको यस जग्गाका सुकुम्बासीलाई हटाएर सपिङ्ग कम्प्लेक्स निर्माण गर्ने महत्वकाक्षी योजना एक दशक अघिदेखि नै अघि सार्दैआएको थियो ।