काठमाडौं। काठमाडौं महानगरपालिकाले दर्ता नभएका बस टिकट बुकिङ काउण्टर हटाउन थालेको छ। दर्ता नभएका टिकट काउण्टर हटाउन गत २६ साउनमा सूचना जारी गरेको महानगरले भदौ १ गतेदेखि आफैंले हटाउन सुरु गरेको हो।
काठमाडौं महानगर भित्र नयाँ बसपार्कबाट एकद्वार रुपमा मात्रै टिकट काउन्टर सञ्चालन गर्ने नीति लिएपछि धमाधम महानगरले दर्ता नगरी सञ्चालनमा आएका टिकट बुकिङ काउण्टर हटाइरहेको हो।
हालसम्म कोटेश्वरमा ४१, गौशालामा २७, चावहिलमा २१ र गोंगबु क्षेत्रमा ११ अनधिकृत रुपमा चलेका काउण्टर हटिसकेको महानगरले जनाएको छ। कलंकी र बल्खु क्षेत्रमा पनि दर्ता नभएका काउण्टर हटाउन सुरु गरिएको छ।
महानगर प्रहरीले चावहिलमा अनधिकृत रुपमा निर्माण गरिएका १० वटा काउण्टरमा डोजर समेत चलाएको थियो ।