सिन्धुपाल्चोक। वर्षाका कारण मेलम्ची–हेलम्बु सडक यातायात अवरुद्ध भएको छ । अबिरल वर्षाले गर्दा मेलम्ची नदीमा आएको बाढीका कारण मेलम्ची–हेलम्बु सडक यातायात अवरुद्ध भएको हो।
हेलम्बु गाउँपालिकाको पहलमा सडक खुलाउने कार्यलाई अघि बढाइए पनि निरन्तर वर्षाको कारण सम्भव हुन सकेको छैन।
मेलम्चीको सिमखेतमा पनि सडक अवरुद्ध भएको छ । पानी परिरहेकाले सडक मर्मत गर्न समस्या रहेको नगरपालिकाले जनाएको छ । निरन्तर वर्षाका कारण हेलम्बु–४ स्थित सरस्वती माध्यमिक विद्यालयको शौचालय बाढीले बगाएको छ भने कक्षाकोठा उच्च जोखिममा परेको हेलम्बु गाउँपालिकाले जनाएको छ। अहिले विद्यालयका फर्निचरलगायत सामान सार्ने काम भइरहेको बताइएको छ।
वर्षा नरोकिएकाले विद्यालयसहित ग्याल्थुम बजार नै जोखिममा परेको छ।