काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले देश विकासको प्रमुख आधारस्तम्भ उद्योग क्षेत्र भएको बताएका छन् । सातौँ उद्योग दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री देउवाले विकासको प्रमुख आधारस्तम्भका रूपमा रहेको उद्योग क्षेत्रको गुणात्मक विकासले मात्र मुलुकको समग्र समुन्नति सम्भव हुने बताएका हुन् ।
प्रधानमन्त्री देउवाले मुलुकको समृद्धिमा उद्योग व्यवसाय क्षेत्रले पुर्याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा आर्थिक विकासमा यस क्षेत्रको योगदान अभिवृद्धि गर्नेतर्फ ध्यान केन्द्रित गर्न आह्वान गरेका छन् ।
उनले मुलुकको कूल गार्हस्थ्य उत्पादनको करिब १२.८ प्रतिशत र उत्पादनमूलक उद्योगको पाँच दशमलव ०८ प्रतिशत योगदान रहेको उद्योग व्यवसाय क्षेत्रबाट मुलुकको औद्योगिक उत्पादन, रोजगारी सिर्जना र आर्थिक विकासमा थप योगदान पुग्ने अपेक्षा गरेको उल्लेख गरेका छन् ।
तीव्र औद्योगिक विकासका माध्यमबाट रोजगारी सिर्जना र आत्मनिर्भर अर्थतन्त्र निर्माण गरी समृद्ध मुलुकको आधार तयार गर्ने कार्यमा सरकार प्रतिबद्ध रहेको उनले बताए । प्रधानमन्त्री देउवाले तीनै तहका सरकार र निजी क्षेत्रको समन्वयबाट उद्योग क्षेत्रको विकास र विस्तार हुन सक्दछ भन्ने कुरामा सरकार विश्वस्त रहेको उल्लेख गरेका छन् ।
‘स्वेदशी उद्यम र उत्पादन : दिगो औद्योगिक पुनरुत्थान’ भन्ने नाराका साथ आज यो दिवस मनाइँदैछ ।