काठमाडौं। नयाँ वर्ष मनाउन चीन गएका चिनियाँ ठेकेदार डेड वर्षमा पनि नफर्किँदा विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रको नौतले दरबारको पुनःनिर्माण अवरूद्ध भएको छ ।
चीन सरकारको सहयोगमा पुनःनिर्माण भइरहेको नौतले दरबारको कामले २०७६ चैतपछि गति लिनसकेको छैन। चीनले भूकम्पपछिको पुनःनिर्माणमा सहयोग गर्ने क्रममा नौतले दरबारका लागि सहयोग गरेको थियो। सन् २०२२ मा सक्नेगरी सम्झौता भएको नौतले दरबारको कोरोना शुरु हुनुअघि नै ८० प्रतिशत काम सकिएको पुनःनिर्माणमा प्राविधिक सहयोग गरिरहेको पुरातत्व विभागले जनाएको छ।
पुनःनिर्माणका क्रममा परम्परागत सामग्री उपलब्ध गराउने तथा सुपरिवेक्षणको भूमिका पनि विभागलाई नै दिइएको छ। हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनाल २०७६ चैतअघि नै चिनियाँ नयाँवर्ष मनाउन गएका कामदार कोरोना महामारीका कारण आउन नपाएपछि काममा अवरोध भएको बताए।
कोरोना सुरु हुनुअघि नै ८० प्रतिशत काम सकिएको नौतले दरबार पुनःनिर्माणको भौतिक प्रगति अहिले ८५ प्रतिशत रहेको उनले बताए। पछिल्लो समय कोरोना जोखिम कम हुँदै गएपनि नेपाल चीनबीचको उडान नखुलेका कारण कामदार आउन पाएका छैनन् । कामदार आउन नपाए पनि यहाँ गर्न सकिने काम भइरहेको दरबार हेरचाह अड्डाले जनाएको छ।