झापा। मेचीनगर नगरपालिका क्षेत्रभित्र बन्दै गरेका तीन खानेपानी आयोजनाबाट छ हजार घरपरिवार लाभान्वित बन्ने भएका छन् । मेचीनगर सहलगानी खानेपानी तथा सरसफाइ आयोजना अन्तर्गत चारआली, धुलाबारी र भृकुटीमा निर्माणाधीन आयोजनाबाट करिब छ हजार घरपरिवार लाभान्वित हुने आयोजनाले जनाएको छ।
आयोजनाका अध्यक्ष राजकुमार पोखरेलले ती आयोजनाको निर्माण ८५ प्रतिशत सकिएको उनले जानकारी दिए ।
नेपाल सरकार खानेपानी मन्त्रालयको आर्थिक सहयोगमा निर्माणधीन आयोजनाको कुल लागत रु १६ करोड ६६ लाख ७३ हजार आठ सय १४ छ । निर्माणको जिम्मा सिएवी, जिआरडी जेभी काठमाडौँले पाएको छ । स्थानीय उपभोक्ताले जनश्रमदानबापतको रकम रु दुई करोड आठ लाख ३४ हजार दुई सय २६ बेहोर्ने सर्तमा विसंं २०७८ असार २९ गते सम्झौता भएको थियो । आयोजनाको विसं २०८० पुस २९ सम्म निर्माण सम्पन्न हुने सम्झौतामा उल्लेख छ ।
अध्यक्ष पोखरेलले धुलाबारीमा दुई, भृकुटीमा दुई र चारआलीमा एउटा डिप बोरिङमार्फत पानी निकालेर दुई वटा फिल्टर प्लान्ट हुँदै चार लाख ५० हजार लिटर क्षमताको ओभरहेड ट्याङ्कीमा जम्मा गरी सप्लाई गरिने बताए ।
उनका अनुसार चारआलीमा भने दुई लाख २५ हजार क्षमताको ओभरहेड ट्याङ्की छ । जसबाट एक हजार बढी घर परिवार लाभाविन्त हुनेछन् । मेचीनगर–२ का बासिन्दा वर्षौँदेखि इनार, कलको पानी उपभोग गर्दै आएका थिए ।