काठमाडौं। निजी क्षेत्रको वायुसेवा कम्पनी गुण एयरलाइन्सले अन्तरप्रदेश उडान विस्तार गरेको छ।पोखरा–भरतपुर रुटमा बुधबारदेखि उडान थालेको कम्पनीले बिहीबारदेखि पोखरा–भैरहवा र शुक्रबारदेखि पोखरा–नेपालगञ्जमा नियमित उडान गर्ने भएको हो।
आन्तरिक पर्यटनलाई लक्षित गरी अन्तरप्रदेश उडान विस्तार गरिएको कम्पनीले जनाएको छ। यसबाट आन्तरिक पर्यटन प्रवद्र्धनमा ठूलो मद्दत पुग्ने कम्पनीको विश्वास छ।
कम्पनीले दुई वटा अमेरिकी बिचक्राफ्ट र बेलायती पाँच वटा जेट्स्ट्रीम सहित कुल सात वटा विमानबाट आन्तरिक रुटमा उडान गरिरहेको छ। गुण एयरलाइन्सले अहिले काठमाडौबाट भरतपुर, पोखरा, तुम्लिङटार, भैरहवा, नेपालगञ्ज, विराटनगर, सिमरा र जनकपुरमा नियमित उडान गरिरहेको छ।