गुल्मी। गुल्मीको रेसुङ्गा विमानस्थलमा शुक्रबार (भोलि) देखि पुनः नियमित उडान हुने भएको छ। दुई महिनादेखि उडान ठप्प भएको रेसुङ्गा विमानस्थलमा मौसममा सुधार आएसँगै उडान हुने भएको हो।
काठमाडौँबाट रेसुङ्गा विमानस्थलका लागि गत असार ६ गते उडान भए पनि खराब मौसमका कारण जहाज बीचबाटै काठमाडौँ फर्किएसँगै उडान भएको थिएन।
रेसुङ्गा विमानस्थलमा गत वैशाख अन्तिम साताबाट नियमित उडान सुरु भएको थियो । शुक्रबारदेखि हुने उडानको लागि एयरलाइन्सको वेबसाइटबाट टिकट लिन सकिने रेसुङ्गा नगरपालिकाका सूचना प्रविधि अधिकृत सुरेश खनालले बताए।
रेसुङ्गा विमानस्थलका लागि काठमाडौँबाट बिहान ६ः३० बजे र रेसुङ्गा विमानस्थलबाट काठमाडौँका लागि बिहान ७ः४५ बजे उडान गर्ने समयतालिका रहेको छ । काठमाडौँदेखि गुल्मीका लागि ६ हजार ५०० रुपैयाँ र गुल्मीदेखि काठमाडौँका लागि ६ हजार ३०० रुपैयाँ भाडादर कायम गरिएको छ ।