काठमाडौ। भैरहवास्थित गौतम बुद्व अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौँ हुँदै बेङ्लुरू उडान हुने भएको छ । नेपाल वायु सेवा निगमले भैरहवाबाट काठमाडौँसम्म यात्रुलाई निःशुल्क रूपमा उडाएर काठमाडौँ–बेङ्लुरूकै भाडादरमा उडान सुरु गर्न लागिएको हो ।
गत जेठ ३० गतेदेखि साताको एक दिन क्वालालम्पुर–भैरहवा–काठमाडौँ उडान गर्दै आएको निगमले गत मङ्गलबारदेखि सोही जहाजमा भैरहवाबाट हङकङ र दिल्ली जाने यात्रुलाई काठमाडौँ ल्याएर गन्तव्यमा पुर्याउने सुविधा सुरु गरेको छ ।
भैरहवाबाट बिहान ८ १५ बजेको उडानबाट काठमाडौँ ल्याएका यात्रुलाई हाल बिहान ११ बजे हङकङ र दिउँसो १ बजे दिल्ली पठाउने सुविधा छ । अब दिउँसो १स्२५ को अर्को उडानमार्फत बेङ्लुरू जाने यात्रुलाई गन्तव्य मुलुकमा पठाइने निगमले जनाएको छ।
निगमको जहाजले मलेसियाबाट भैरहवामा अवतरण हुँदा खाली भएका सिटमा हङकङ, दिल्ली र बेङ्लुरू जाने यात्रु बोकेर काठमाडौँ आउने छ । भैरहवाबाट बेङ्लुरू उडानका लागि टिकटसमेत खुला भइसकेको र यात्रुको उपलब्धताका आधारमा दुबईलगायतका मुलुकमा समेत काठमाडौँलाई ट्रान्जिट बनाएर उडान सञ्चालन गरिने बताइएको छ।