मोरङ। नेपाल सरकारले थप तीन वटा जहाज किन्ने तयारी अन्तिम चरणमा पुर्याएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्री सुदन किराँतीले विराटनगरमा प्रेस सेन्टर मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सरकारले आफ्नै खर्चमा थप ३ वटा जहाज किन्ने अन्तिम तयारीमा रहेको बताएका हुन्।
उनले देशभरका २२ वटा विमानस्थल खाली रहेको बताउँदै त्यस्ता एयरपोर्टलाई व्यावसायिक ढंगले सञ्चालन गर्न सरकारले जहाज किन्न लागेको जानकारी दिए।
उनले भने, ‘यहाँ नाफा चाहिँ हुँदैन । राष्ट्रिय ध्वजाबाहकको उत्तरदायित्व मात्रै हो । घाटा हुन्छ । घाटा भएपनि राज्यले जनतालाई सुविधा दिनुपर्छ,’ किराँतीले भने, ‘वर्षौं अगाडिदेखि ग्राउण्डेड भएको एउटा जहाज रहेछ । त्यो अब एक डेढ महिनाभित्र बन्दैछ । त्यसपछि हामीसँग तीनवटा हुन्छ । दुर्गममा जाने गरी थप ३ वटा जहाज किन्ने अन्तिम तयारीमा हामी पुगेका छौं ।’