ताप्लेजुङ। ताप्लेजुङको सुकेटार विमानस्थलमा करिब तीन महिनापछि उडान सुरु भएको छ। मौसम खराबीका कारण गत जेठ अन्तिम साताबाट बन्द भएको सुकेटार विमानस्थलबाट सोमबारदेखि उडान सुरु गरिएको हो।
नेपाल वायुसेवा निगमका अनुसार बर्खा मौसमको अन्त्यसँगै मौसम अनुकूल भएपछि उडान सुरु भएको हो।
सोमबार निगमको ट्विनअटर जहाजले काठमाडौँ–ताप्लेजुङ–काठमाडौँ उडान भरेको छ। निगमका सोमबार काठमाडौँदेखि सात जना यात्रु बोकेर आएको जहाजले सुकेटारदेखि एक जना यात्रु लिएर फर्किएको छ । बन्द भएको लामो समयपछि पहिलो उडान भएकाले सोमबार थोरै यात्रु भएको बताइएको छ।
अब साताको तीन दिन सोमबार, बिहीबार र शनिवार काठमाडौँ–ताप्लेजुङ नियमित उडान हुनेछ । यसअघिको भाडादरमा एक हजार रुपियाँ घटाएर ताप्लेजुङ–काठमाडौँका लागि आठ हजार ४०० रुपियाँ र काठमाडौँ–ताप्लेजुङका लागि आठ हजार ६०० रुपियाँ कायम गरिएको छ ।