काठमाडौं। काठमाडौं उपत्यका गुम्बा तमु सेवा समितिले काठमाडौं महानगरपालिकासँग गुम्बा नभत्काउनका लागि आग्रह गरेको छ। काठमाडौं महानगरपालिका वडा नं १० देवीनगरस्थित उपत्यका गुम्बा तमु सेवा समितिले उच्च अदालत पाटनबाट अर्को आदेश नभएसम्मका लागि गुम्बा नभत्काउन आग्रह गरेको हो।
महानगरपालिकाले भने सार्वजनिक जग्गामा निर्मित भनेर गुम्बा हटाउन अल्टिमेटम दिएको छ ।
काठमाडौं उपत्यका गुम्बा तमु सेवा समितिले आज एक प्रेस विज्ञप्ति जारी गरेर महानगरपालिकालाई बौद्ध धर्मालम्बीको आस्थाको केन्द्र रहेकाले गुम्बाको संरक्षण गर्न आग्रह गरेको हो ।
समितिको विज्ञप्तिमा भनिएको छ, ‘विसं २०६६ जेठ २१ गते बुद्ध धर्मप्रति आस्था राख्ने गुरुङ समुदायका व्यक्ति बुद्ध धर्मको ज्ञान, उपदेश, प्रवचन दिने र दिन लगाउने उदेश्यका साथ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिमा समेत दर्ता गरेर काठमाडौँ उपत्यका गुम्बा तमु सेवा समिति सञ्चालनमा रहेको छ ।’
गुम्बा स्थापनार्थ वडा कार्यालयको सिफारिसमा जग्गा प्रमाणित गरेर वडाकै डिजाइनमा गुम्बा निर्माण गरिएको जनाइएको छ ।