कास्की। अर्थमन्त्री डा.प्रकाशशरण महतले पोखरा पर्यटनको ट्रान्जिट बन्नुपर्ने बताएका छन्। पोखरा पर्यटन परिषद्को वार्षिक साधारणसभाको पोखरामा उद्घाटन गर्दै मन्त्री महतले पोखरा पर्यटनको ट्रान्जिट बन्नुपर्ने उल्लेख गरेका हुन्।
पर्यटनलाई समृद्धिको महत्वपूर्ण आधारका रुपमा लिइएको बताउँदै उनले ट्रान्जिट धेरै भए पर्यटकीय गतिविधि बढ्ने समेत बताए।
मन्त्री महतले देशको अर्थतन्त्र सकारात्मक बाटोमा उन्मुख बनेको बताएका छन्। उनले भूकम्प, कोभिडलगायत विभिन्न कारणले मुलुक अप्ठ्यारोबाट गुज्रिए पनि निराश बन्नुपर्ने अवस्था नरहेको बताए।
नकारात्मक कुराले केवल आत्मविश्वास घटाउने भन्दै उनले अलिकति समस्या आयो भन्दैमा निराश हुन नहुनेमा जोड दिए। राजस्व संकलनको अवस्था गत आर्थिक वर्षको तुलनामा राम्रो भएको बताउँदै उनले राम्रा दिन आउनेतर्फ सकारात्मक छलफल सुरु गर्नुपर्नेमा जोड दिए।
आर्थिक क्षेत्रमा देखिएका समस्याको समाधानका लागि सरकार निरन्तर क्रियाशील रहेको बताउँदै अर्थमन्त्री डा महतले पुँजीगत खर्चलाई प्रभावकारी ढंगले बढाउने बताए।