काठमाडौं पाथीभरा मन्दिरबाट माथिल्लो फेदीसम्म फाइवरको छहारी (ट्रस) लगाइने भएको छ । तीर्थयात्रीको सहजताका लागि पाथीभरा मन्दिरको पूजा धामबाट माथिल्लो फेदीसम्म फाइवरको ट्रस लगाउन थालिएको हो ।
हिमपातको समयमा हिउँले बाटो पूरै पुरेपछि यात्रुले कठिन यात्रा गर्नुपर्ने बाध्यता खेप्दै आएकाले पदमार्गमा ट्रस लगाउन थालेको समितिले जनाएको छ । माथिल्लो फेदीबाट मन्दिरसम्मको दूरी दुई हजार चार सय मिटर पर्छ । अहिलेसम्म एक किमी दूरीमा फाइवरको छहारी लगाउने कार्य पूरा भएको छ । बाँकी एक हजार चार सय मिटर दूरीमा फाइबर लगाउने कार्य पूरा गर्ने तयारी गरिएको समितिले जनाएको छ ।
समितिका अनुसार पदमार्गमा फाइवरको छहारी लगाउने कार्य तीन हजार सात सय ९४ मिटर उचाइको मन्दिर क्षेत्रबाट सुरु गरी माथिल्लो फेदीतर्फ विस्तार गर्दै लगिएको छ । चालु आवमा सङ्घीय सरकार, प्रदेश सरकार अन्य दाता तथा निकायसँग साझेदारी योजना अघि बढाइने छ। फाइबरको छहारी लगाउन रु तीन करोड ५० लाख हाराहारी रकम खर्च हुने अनुमान गरिएको छ ।
पदमार्गलाई तीन मिटर चौडाइमा विस्तारसँगै फलामे ट्रस जडान गरी फाइवरको छहारी लगाएको समितिले जनाएको छ। पदमार्ग सोलिङ गरिएको छ भने दायाँ–बायाँ रेलिङ लगाएको छ ।