काठमाडौं। गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको छोइछिङ सहरबाट सीधा हवाइ सेवा सञ्चालनका लागि प्रस्ताव गरिएको छ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य एवं छोइछिङ सहर कमिटीका सचिव युआन जियाजुनसहितका नेतासँगको छलफलमा छोइछिङ सहरबाट नेपालका २ विमानस्थलमा सीधा उडानको प्रस्ताव गरेका हुन्।
पोखरा विमानस्थल सञ्चालनमा आएको ८ महिना भइसक्दा पनि अहिलेसम्म एउटै नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन। चीनको ऋण सहयोगमा बनाइएको विमानस्थलमा असार ६ गते चीनको छेन्दुबाट सिचुवान एयरलाइन्सले एउ६ा चार्टर्ड उडान गरेको थियो।
यस्तै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले पनि सञ्चालनमा आएको डेढ वर्ष हुन लाग्दा काम पाउन सकेको छैन। पोखरेलले चिनियाँ नेतासँग सीधा उडानका साथै चीनसँग भएको व्यापार तथा पारवाहन सम्झौताको प्रभावकारी कार्यान्वयनमा जोड दिएको उनीसँगै भ्रमणमा रहेका एमालेका परराष्ट्र मामिला विभाग प्रमुख डा राजन भट्टराईले जानकारी दिए।
चिनियाँ नेता जियाजुनले छोइछिङबाट सीधा उडानका लागि दुई देशका नागरिक उड्डयनसँग सम्बन्धित निकायबीच संवाद हुनुपर्ने बताए।