काठमाडौं। लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामाले लुम्बिनी गुरुयोजनाका निर्माणाधीन क्षेत्रको अनुगमन गरेका छन्। उपाध्यक्ष लामाले लुम्बिनी गुरुयोजना क्षेत्रका निर्माणाधीन सडक, पार्किङ, गेट एवं विद्युत् पोल र स्ट्रिक लाइटको निरीक्षण तथा अनुगमन गरेका हुन्।
अनुगमनका क्रममा उनले यस क्षेत्रको सम्पूर्ण निर्माण कार्य एक महिनाभित्र सक्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन् ।
उनले विश्वका बौद्धमार्गीको आस्थाको केन्द्र लुम्बिनीको अधुरो सडकका कारण सास्ती पाएकाले हेलचेक्रयाइँ नगर्न निर्माण कम्पनीलाई सचेत गराएका हुन् ।
लुम्बिनी गुरुयोजनाअन्तर्गत दुई वर्षअघि ४४ किमि ड्रेन, १३ किमि सडक कालोपत्रे, १२ किमि सडक ब्लक, आठ वटा गेट र दुई हजार दुई सय पोललगायतका स्ट्रिक लाइट निर्माणका लागि छुट्टाछुट्टै चार निर्माण व्यवसायीले निर्माण सम्झौता गरी काम गरिरहेका छन् । सम्झौताको म्याद सकिनै लाग्दा समेत निर्माण कार्य आधा पनि हुन नसेपछि उपाध्यक्ष डा लामाले अनुगमन गरेर निर्देशन दिएका हुन्।
उपाध्यक्ष लामासहित स्थलगत अनुगमनमा सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराई, कार्यकारिणी सदस्य नेत्र शाही, परिषद् सदस्य गोपिकृष्ण शर्मासहितको टोली गएको थियो ।