पर्वत। पहिरोबारे अध्ययन गर्न खानी तथा भूगर्भ विभागको टोली जलजला गाउँपालिकामा पुगेको छ। खानी तथा भूगर्भ विभागअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको टोली बुधबार जलजला गाउँपालिका–५ कुवापानी पुगेको हो ।
विभागका भूगर्भविद् अनिस खनाल, प्राविधिक विरास मल्ल र इन्जिनियर ईश्वर न्यौपाने जलजला गएका हुन्। टोलीले बुधबारदेखिनै पहिरोको अध्ययन थालेको छ । स्थलगत अध्ययन र ल्याब परीक्षणपछि रिपोर्ट तयार गरिने छ। प्रारम्भिकरुपमा हेर्दा पहिरो पहाडबाट छुट्टिएको र पहिरोमुनिको बस्ती परम्पराकालमै पहिरो गएकै स्थानमा बसेकाले पनि थप जोखिम रहेको देखिएको टोलिको भनाइ छ।
टोलीले उक्त क्षेत्रको भौगोलिक अवस्थाको बारेमा अध्ययन अनुसन्धान गर्नुका साथै थप जोखिम हुने अवस्था, निराकरणका उपाय र पहिरोले क्षति पु¥याएका बस्ती स्थानान्तरण गर्नुपर्ने या नपर्ने विषयमा समेत प्रतिवेदन तयार पार्ने भएको छ ।
कुवापानीबाट खसेको पहिरोले जलजला–२ पूर्णगाउँ, मुलघडेरी, नेपानेका सात परिवार विस्थापित भएका छन् भने झण्डै ८५ रोपनी खेतीयोग्य जमिन बगरमा परिणत भएको छ ।