सिन्धुपाल्चोक। चौतारा पुरानो बजारस्थित एक सय १५ वर्ष पुरानो ऐतिहासिक एवं पुरातात्विक महत्त्व बोकेको कृष्ण मन्दिरको उद्घाटन गरिएको छ। पूर्वसभामुख अग्नीप्रसाद सापकोटाले एक कार्यक्रमकाबीच श्रीकृष्ण जन्माष्टमीको दिन पारेर मन्दिरको उद्घाटन गरेका हुन्।
कृष्ण मन्दिर जस्तै पुरातत्व महत्त्व बोकेका मन्दिरको खोज अनुसन्धान गरी यस्ता मन्दिरहरूलाई संरक्षण, सम्वर्द्धन गर्नुपर्ने उपसभामुख सापकोटाले बताए । आआफ्नै परम्परा संस्कृति छन् तिनीहरूलाई जोगाइ युवापुस्तालाई बोध गराई नैतिक शिक्षा दिनु आजको आवश्यकता रहेको नेता सापकोटाले बताए ।
यस्तै चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख कृष्णप्रसाद सापकोटाले नगरपालिका यस्ता पुरातात्विक सम्पदाको संरक्षणमा सधैँ लागिरहने बताए ।
छोटो समयमै ऐतिहासिक पुरातात्विक, सांस्कृतिक, धार्मिक र शैक्षिक महत्त्व बोकेको यो मन्दिर पुनःनिर्माण भएकामा खुसी व्यक्त गर्दै उनले निर्माण कार्य सम्पन्न गर्न प्रत्यक्ष अप्रत्यक्षरुपमा लागि पर्नुहुने सम्पूर्णमा धन्यवादसमेत व्यक्त गरे । नगर क्षेत्रभित्रका प्रयर्टन क्षेत्रको र प्रर्यटन क्षेत्र निर्माणका लागि निरन्तर नगरपालिका अग्रसर रहिरहने उनको प्रतिबद्धता छ ।