चितवन। उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको विकासका लागि राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन्। माडी नगरपालिकाले आयोजना गरेको जनप्रतिनिधि एवं कर्मचारीसँगको छलफलमा उपप्रधानमन्त्री श्रेष्ठले विकास निर्माणका लागि राष्ट्रिय सहमति आवश्यक रहेको बताएका हुन्।
उनले विकास निर्माणका विषयमा सबै दल एक भएर अघि बढ्नुको विकल्प नरहेकोमा जोड दिए। जनीतिक संस्कार परिवर्तन गरेर विकास निर्माणमा सहमतिका साथ अघि बढ्न जरुरी रहेको उनको भनाइ छ । उनले भने, “एक अर्कालाई तानातान गर्ने राजनीतिक संस्कारले विकास हुनसकेन । हाम्रो देशपछि पर्नुको मुख्य कारण पनि यही हो । यसो गर्न सके मुलुक स्वाधिन, सुन्दर, लोकतन्त्र र सम्बृद्ध बनाउन सकिन्छ ।”
स्थानीय तहदेखि केन्द्रीय तहसम्म विकासका लागि सबै दल एक ठाउँ हुन जरुरी रहेको उनको भनाइ छ ।
माडीवासीको समस्याप्रति आफू जानकार रहेको बताउँदै उनले निकुञ्जको बाटो कालोपत्र गर्ने विषयमा प्रधानमन्त्री र आफूले पटक–पटक छलफल गरी पहिलो प्रथामिकतामा राखेको बताए । सो अवसरमा सुकुम्बासी समस्या समाधानका लागि कानुन संशोधन गरेर भए पनि अघि बढ्ने प्रतिबद्धता जनाए ।