काठमाडौं। आगामी असोज महिनामा सक्नुपर्ने जोमसोम–कागबेनी सडकमा कालोपत्रेको काम भर्खर सुरु गरिएको छ। उत्तरी कोरला नाका जोड्ने राष्ट्रिय गौरवको जोमसोम–कागबेनी सडकको कालोपत्रे गर्ने समयसीमा असोज ३ गते सकिनेमा भर्खर काम सुरु गरिएको हो।
कालिगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक आयोजनाले १८ महिनामा काम सक्नेगरी २०७८ असोज ४ गते २८ करोड १४ लाख लागतमा रौटाहा आत्रेय जेभीसँग ठेक्का सम्झौता गरेको थियो।
जोमसोम–कोरला सडक अन्तर्गत निर्माण कम्पनीले जोमसोम–कागबेनी १२ किमी र कागबेनी श्राद्धस्थलदेखि जोमसोम–कोरला मुख्य राजमार्गसडकसम्म थप १ किमी गरी कुल १३ किमी सडक स्तरोन्नति गरी कालोपत्रे गर्ने जिम्मा पाएको थियो।
आयोजना अन्तर्गत यसअघि सम्पन्न भएको ग्राभेल सडकलाई ग्रेड मिलाउने,कटिङ गर्ने,मेशिनरी वाल लगाउने,वाल निर्माण गरी माटो फिलिङ गरी सडक चौडा गर्ने र करिव ३ स्थानमा १ किमी एकतर्फी ड्रेन निर्माण गरी कालोपत्रे गर्ने जिम्मा लिएको थियो।
तर,रौटाहा आत्रेय जेभीले जोईन भेन्जरका रुपमा ठेक्का सम्झौता गरे नि सडक स्तरोन्नति तथा कालोपत्रे गर्ने जिम्मा आत्रेय निर्माण कम्पनीले एकल रुपले लिएको थियो।
आत्रेयले लगानी गर्न नसक्दा अपेक्षा गरिए अनुसारको भौतिक प्रगति हुन नसकेको आयोजनाले जनाएको छ।