स्याङ्जा। अर्जुनचौपारी– १ बजारमा निर्माण गरिएको हेलिप्याडको सफल परीक्षण गरिएको छ। नेपाल आर्मी र अर्जुनचौपारी गाउँपालिकाको सहकार्यमा निर्माण गरिएको हेलिप्याडमा नेपाल आर्मीको इक्विरल हेलिकोप्टर पहिलोपटक अवतरण गरिएको हो ।
जिल्लाभित्र पर्ने जोखिमको बेला उद्धारमा टेवा पुर्याउने गरी आर्मीसँग सहकार्य गरेर हेलिप्याड निर्माण गरिएको छ । नेपाल आर्मीका कर्णेल रचन श्रेष्ठको नेतृत्वमा काठमाडौंबाट आएको तीन जनाको टोलीले हेलिकोप्टर सफल परीक्षण गरेको हो ।
पुतलीबजार हुँदै आएको हेलिकोप्टरले गाउँपालिकाका सबै क्षेत्रमा परीक्षण गर्दै चार पटक अवतरण गरेको थियो । हेलिकोप्टरको सफल परीक्षणपश्चात् कर्णेल श्रेष्ठले हेलिप्याड राम्रो र उपयुक्त ठाउँमा बनेको बताए।
हेलिप्याडको पश्चिमतर्फ रहेको पहाडले थोरै समस्या रहने पनि एमआई १७ समेत अवतरण गर्न कुनै समस्या नहुने बताए। हेलिप्याड निर्माणमा प्राविधिक डिजाइन र श्रम सहयोग समरदल गुल्मको हो भने गाउँपालिकाले आवश्यक सामग्रीको पूर्ति गरेको थियो ।