काठमाडौं। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट ४२ यात्रु लिएर भुटानको ड्रुक एयर फर्किएको छ। भुटानको पारो विमानस्थलबाट चालक दलका तीन सदस्यसहित शनिबार बिहान ६:४५ मा पोखरा ओर्लिएको जहाज ४२ अमेरिकी पर्यटक बोकेर ८:१५ मा थिम्पु फर्किएको हो ।
सञ्चालनमा आएको ८ महिनापछि पहिलोपल्ट अन्तर्राष्ट्रिय उडानबाट विमानस्थललाई आम्दानी भएको छ।
यसअघि चीनको सिचुवान एयरलाइन्सले छेङ्दुबाट चार्टर्ड उडान गरी पोखरा आएको थियो । उक्त विमान फर्किंदा रित्तै फर्किएको थियो ।
भारत, नेपाल र भुटान घुम्ने गरी आएका खर्चालु अमेरिकी पर्यटक ड्रुक एयर चार्टर गरी थिम्पु पुगेका हुन् । जहाज भारतीय एजेन्सीले नै चार्टर गरेको हो । उनीहरू तीन दिन पोखरामा बसेर विभिन्न साहसिक गतिविधिमा सामेल भएका थिए । उक्त टोली शुक्रबार आठवटा हेलिकप्टरमार्फत कुरिनटार पुगेर मर्स्याङ्दी नदीमा र्याफ्टिङ गरी हेलिकप्टरमै पोखरा फर्किएको थियो ।