काठमाडौं। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको भान्सामा इन्डक्सन चुलो राख्न सरकारले प्रक्रिया अघि बढाएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले यी निकायका उच्च अधिकारीसँग छलफल गर्दै ग्यासलाई इन्डक्सनले विस्थापित गर्न निर्देशन दिएसँगै प्रक्रिया अघि बढेको हो।
ऊर्जामन्त्री पम्फा भुसालको सचिवालय स्रोतका अनुसार छलफलमा सशस्त्र प्रहरीका एआइजी रामशरण पौडेल, नेपाल प्रहरीका एसएसपी फणिन्द्र बराल र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सहभागी थिए। छलफलका क्रममा विद्युत् खपत तथा वातावरण संरक्षणका लागि स्वच्छ ऊर्जाको प्रयोग बढाउन नेपाल प्रहरी र सशस्त्र प्रहरीका ब्यारेकमा कसरी विद्युतीय उपकरणको प्रयोग बढाउन सकिन्छ भनेर राय सुझाव लिइएको थियो।
अहिले सुरक्षा निकायका भान्सामा दाउरा विस्थापन गरी ग्यास प्रयोग हुँदै आएको छ। मन्त्रालयसँगको छलफलका क्रममा सशस्त्र प्रहरीको भान्सामा वार्षिक १० करोड रुपैयाँ र नेपाल प्रहरीको भान्सामा वार्षिक ५० करोड रुपैयाँ बराबर ग्यासमा खर्च हुने गरेको विवरण बुझाइएको छ। देशभर सशस्त्र प्रहरीका १ सय ९ वटा युनिट छन्। ग्यासलाई विद्युतले प्रतिस्थापन गर्ने सरकारको नीतिअनुसार सबै ब्यारेकमा इन्डक्सन चुलो प्रयोगका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन भनिएको हो।