काठमाडौं। १४.३ मेगावाट क्षमताको माथिल्लो मैलुङ खोला जलविद्युत आयोजनाले आफूले बनाउनुपर्ने प्रसारणलाइन निर्माण प्रक्रिया पनि अघि बढाएको छ। आयोजनाको विद्युतगृह रहेको रसुवाको उत्तरगयादेखि नुवाकोटमा रहेको नेपाल विद्युत प्राधिकरणको सवस्टेसनसम्म ११ किलोमिटर लामो प्रसारणलाइन निर्माण हुने भएको छ।
१३२ केभी क्षमताको प्रसारणलाइनमा २८ वटा टावर निर्माण हुने छन्। साथै ३५० मिटरको दुरीमा २६ मिटरदेखि ३६ मिटरसम्म अग्ला टावर निर्माण हुने आयोजनाले जनाएको छ। सो प्रसारणलाइनमा पर्ने राइट अफ वेसहित करिब २० हेक्टर जमिन स्थायी र अस्थायी रूपमा अधिग्रहण गर्नु पर्नेछ। प्रसारणलाइनको केन्द्र रेखादेखि दायाँ बायाँ ९/९ मिटर राइट अफ वे हुने आयोजनाले जानकारी दिएका छन्।
माथिल्लो मैलुङ खोलाको निर्माण अन्तिम चरणमा पुगेसँगै आयोजनाले १३ मेगावाटको मध्य–मैलुङ खोला जलविद्युत आयोजनाको निर्माण प्रक्रिया समेत सुरु गर्दै छ। उक्त आयोजना क्यासकेड आयोजनाका रूपमा निर्माण गर्न लागिएको हो। प्रसारणलाइनले रसुवा जिल्लामा उत्तरगया गाउँपालिकाको वडा नम्बर १,२ र ३ तथा नुवाकोट जिल्लाको किस्पाङ गाउँपालिका वडा नम्बर ५ प्रभावित हुने भएको छ। यसैगरी सो लाइनले पार्ने कुनै प्रतिकूल प्रभावहरु भए प्रमाणसहित राय सुझाव दिन विद्युत विकास विभागले आग्रह गरेको छ।