कैलाली। धनगढी उपमहानगरपालिकाले नगर क्षेत्र भित्रका ८४ वटा प्राकृतिक तालको पहिचान गरी संरक्षण गर्ने कार्य अघि बढाएको छ । उपमहानगरले नगर क्षेत्रभित्र ८४ ताल रहेको विवरण तयार गरी संरक्षण गर्ने कार्य अघि बढाएको हो।
नगर क्षेत्रभित्रका सबै वडा र सामुदायिक वनभित्र पर्ने अतिक्रमणमा परेका प्राकतिक तालको लगत तयार गरी अतिक्रमण हटाएर दीर्घकालीनरूपमा संरक्षण गर्ने योजना अघि बढाएको छ ।
विवरणमा राखिएका तालमध्ये अधिकांश ताल अतिक्रमणमा परेका छन्। धनगढीमा रहेका तालको संरक्षण गर्ने हिसाबले १९ वटै वडामा फिल्ड नक्सा र प्राविधिक जनशक्ति पठाएर तालको विवरण तयार गरिएको उपमहानगरपालिकाले जनाएको छ।
नगर क्षेत्रभित्र अतिक्रमण गरिएका ताल खाली गर्ने र संरक्षणका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाइने बताइएको छ । नगर क्षेत्रभित्र रहेको अधिकांश ताल नक्सामा मात्रै देखिने गरेकाले ती तालको संरक्षणका लागि पहल अघि बढेको हो।
उपमहानगरपालिकाले नगरका केही वडामा अतिक्रमण गरिएका तालको संरक्षण गरिसकेको जनाएको छ । उपमहानगरले तयार गरेको विवरणमा केही ताल छुटेको भए खोजी गरिने बताइएको छ।