बैतडी। सिगास गाउँपालिका–६ मा रहेको न्वाघरीगाड खोलामा पुल नहुँदा स्थानीयलाई समस्या भइरहेको छ। दुई वर्षअघि खोलामा रहेको आरसिसी पुल बगाएपछि अहिलेसम्म अर्को पुल बन्ने सुरसार छैन।
पुल नहुँदा यहाँका स्थानीयलाई खोला वारपार गर्न समस्या भइरहेको छ भने सिगास गाउँपालिका–६ मा रहेको गणेश माध्यमिक विद्यालय मौरीबगरमा अध्ययनरत विद्यार्थीलाई समेत दैनिक विद्यालय आउजाउ गर्न समस्या भइरहेको छ। साना साना केटाकेटी दैनिक विद्यालय जान जोखिमपूर्ण रुपमा खोला तरेर जानुपर्ने बाध्यता छ।
अस्थायी रुपमा बनाइएको काठेपुल पनि एक महिनाअघि खोलाले बगाउँदा विद्यालय जाने बालाबालिकाले सास्तीपूर्ण यात्रा गर्नुपरेको छ। उक्त खोलामा रहेको पक्की पुल दुई वर्ष अगाडिको बाढीले बगाएको थियो, त्यसपछि अस्थायीरूपमा काठेपुल राखिएको भए पनि एक महिना अगाडिको बाढीले त्यो पनि बगायो। लामो समयदेखि खोलामा पुल नहुँदा बालबालिका दिनहुँ खोला तरेर विद्यालय आउजाउ गर्छन् । पानी परेपछि खोलामा पानीको बहाव बढेपछि विद्यार्थीलाई आवागमनमा थप सास्ती हुने गरेको छ ।
उक्त विद्यालयमा बैतडीका मात्रै नभएर डोटीको आदर्श गाउँपालिकाका बालबालिका पनि अध्ययनका लागि आउने गरेका छन्। बैतडी, बझाङ र डोटीको सिमानामा रहेको यस विद्यालयमा आउने तीन जिल्लाका विद्यार्थीले यतिबेला ठूलो जोखिम मोलेर विद्यालय जानु परिरहेको छ।
पुल नहुँदा समस्या भएकाबारे सम्बन्धित निकायलाई जानकारी गराइएको भए पनि कुनै सुनुवाइ नभएको स्थानीयको आरोप छ । वर्खाको समयमा खोला तर्दा बगाएर मृत्यु भएको घटना दैनिक जसो आइरहँदा समेत यसरी जोखिम मोलेर खोला गर्न बाध्य बालबालिका र स्थानीयका विषयमा चासो राखेर पुल नभएका स्थानमा पुल बनाउन तीव्रता देखाइएको भने कतै पाइँदैन।