काठमाडौं। नेपाल वायुसेवा निगमले काठमाडौं-दुबई उडान संख्या थपेको छ। हाल साताको सातवटा उडान गर्दै आएको निगमले आउँदो डिसेम्बर ५ बाट यसलाई नौवटा पुर्याउने जानकारी दिएको छ।
कारोना भन्दा अघि पनि यो गन्तव्यमा निगमले हप्ताको सातवटा उडान गर्दै आएको थियो। तर पछिल्लो समय काठमाडौं-दुबई दुईतर्फी उडानमा यात्रुको माग बढेसँगै निगमले थप दुईवटा उडान थपेको जानकारी दिएको छ। उक्त गन्तव्यका लागि निगमले सुरुआती एकतर्फी भाडा ३४ हजार रुपैयाँ र दुईतर्फी भाडा ५४ हजार रुपैयाँ निर्धारण गरेको छ।
निगमका अनुसार, थपिएका दुईवटा उडान आइतबार र बुधबार बिहान १०:०० बजे हुनेछ। काठमाडौं-दुबई उडान समयावधि चार घण्टा रहेको छ। अहिले यो गन्तव्यमा हप्ताको प्रत्यक दिन राती मात्र उडान हुँदै आएको छ।
निगमका एक अधिकारीका अनुसार नेपाल आउनेको तुलनामा दुबई जाने यात्रुको माग धेरै छ। अहिले वैदेशिक रोजगारीमा जाने श्रमिकसँगै भ्रमणका लागि जाने यात्रु पनि उल्लेख्य रुपमा बढेका छन्, भ्रमणका लागि जानेहरुको मध्यनजर गर्दै बिहान पनि यो रुटमा उडान गर्न लागिएको हो।
निगमले यस रुटमा यात्रुको माग अनुसार वाइडबडी र न्यारोबडी दुवै प्रकारका जहाज आवश्कयता अनुसार उडाउने पनि जानकारी दिएको् छ। अहिले निगमले दुईवटा एयरबस ३२० र दुईवटा एयरबस ३३० मार्फत दिल्ली, मलेसिया, कतार, बैंकक, दुबई लगायत विभिन्न अन्तरराष्ट्रिय गन्तव्यमा नियमित उडान गर्दै आएको छ।