मकवानपुर। मकवानपुरगढी गाउँपालिका–५ स्थित सानोसुकौरामा एकीकृत कृषि फार्म तथा पशुपालन तालिम केन्द्र निर्माण हुने भएको छ। माइती नेपालले द कोकाकोला फाउण्डेशनसँगको सहकार्यमा ६५ रोपनी जग्गामा एक करोड ९२ लाख रुपियाँको लागतमा आवासीय सुविधासहितको तालिम केन्द्र, कृषि तथा पशुपालन फार्म निर्माण गर्न लागेको हो।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले माइती नेपालले निर्माण र सञ्चालन गर्ने एकीकृत कृषि फार्म तथा तालिम केन्द्र भवनको मङ्गलबार मकवानपुरको मकवानपुरगढी गाउँपालिका –५ सानोसुकौरामा शिलान्यास गरेका हुन्।
भवन शिलान्यास गर्दै मुख्यमन्त्री जम्कट्टेलले केन्द्र निर्माणले मानव बेचबिखन रोकथाम र महिला अधिकार प्रबर्धनसँगै ग्रामीण, कृषि र आर्थिक विकासमा सहयोग गर्ने बताए।
कार्यक्रममा प्रदेशकी सामाजिक विकासमन्त्री कुमारी मोक्तान, नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बाँनिया र माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइरालाले एकीकृत कृषि फार्म तथा तालिम केन्द्रले एकीकृत खेती, कृषि तालिम र कृषि पर्यटनको संयोजन गरेर महिलालाई आर्थिक रूपमा सशक्तिकरण गर्न सहयोग पुग्ने बताए।