दाङ। पश्चिम दाङ जोड्ने माथिल्लो सडक स्तरोन्नतिको काम अघि बढेको छ । दाङको ऐतिहासिक हापुरे बजार जोड्ने १९ किलोमिटर सडकमध्ये १२ किमीमा कालोपत्र र बाँकी रहेको सात किमीमा मर्मत गरिने भएको हो।
लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले सडक स्तरोन्नतिका लागि २८ करोड रुपैयाँ बजेट आएको बताएका छन्। सोहीअनुसार कामको प्रक्रिया अघि बढेको उनले जानकारी दिए।
उनले भने, “माथिल्लो सडक बिग्रिँदा आवतजावतमा निकै समस्या हुने गरेको छ, सबैले यो सडक स्तरोन्नतिको माग पनि गर्नुभएको छ। त्यसैले यो सडक स्तरोन्नतिका लागि प्रक्रिया अघि बढिसकेको छ।”
उक्त सडकले तुलसीपुरको गहतेखोलादेखि हापुरे जोड्छ । साथै सोही सडकमा पर्ने तीन खोलामा पुल निर्माणका लागि प्रदेश सरकारले बजेट विनियोजन गरेको जनाउँदै त्यसका लागि सर्भेको प्रक्रिया अघि बढेको मन्त्री मास्कीले बताए । उनका अनुसार समयमै काम पूरा गर्ने गरी प्रक्रिया अघि बढेको छ ।