कास्की। कास्कीको माछापुच्छ्रै गाउँपालिकामा निर्माण भइरहेको २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाको परीक्षण उत्पादन गर्न तयारी थालिएको छ। हालसम्म ९५ प्रतिशत काम पूरा भएको आयोजनाले आगामी मङ्सिर पहिलो सातासम्ममा परीक्षण उत्पादन सुरु गर्ने तयारी गरेको हो।
भिजन लुम्बिनी ऊर्जा कम्पनी प्रालिले निर्माण गरिरहेको यस आयोजनाको अबको दुई महिनाभित्रमा बाँकी रहेका सम्पूर्ण काम सकिएर विद्युत् उत्पादन सुरु हुने आयोजनाले जनाएको छ।
पाँच अर्ब लागतमा निर्माण भइरहेको यो आयोजनाको परीक्षण उत्पादन सुरु भएको १५ दिनपछि व्यावसायिक उत्पादन सुरु हुनेछ । आयोजनाको विद्युत् उत्पादन गर्नुपर्ने मिति भित्रमा नै व्यावसायिक उत्पादन गर्ने गरी काम भइरहेको आयोजनाले जनाएको छ।
आयोजनाको सिभिलतर्फको सबै काम पूरा भएको र हाइड्रो मेकानिकल, इलेक्ट्रोमेकानिकल र ट्रान्समिसन लाइन निर्माणतर्फका काम अन्तिम चरणमा पुगेको छ।