काठमाडौं। सूर्यविनायक-रत्नपार्क ‘द्रुत बस सेवा’ संचालनका लागि सडकमा डेडिकेटेड लेन बनाउने कार्य सुरु भएको छ। काठमाडौं डिभिजन कार्यालयले द्रुत बस सेवा संचालनका लागि सडकमा ‘रेड मार्क’ गर्न थालेको हो।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले संविधान दिवसको अवसर पारेर असोज ३ गतेदेखि द्रुत बस सेवा संचालन गर्न निर्देशन दिएका थिए। त्यसपछि सडक विभाग र यातायात व्यवस्था विभागले कामलाई तिब्रता दिएका थिए।
सडक विभागले तीन दिनभित्र रत्नपार्कदेखि सूर्यविनायकसम्म डेडिकेटेड लेन सक्ने गरी काम थालेको जनाएको छ। विभागले दुई खण्ड बनाएर सडकको रेड मार्क थालेको छ। रत्नपार्कदेखि जडिबुटी, र जडिबुटीदेखि सुर्यविनायकसम्म काम थालिएको हो।