गोरखा। गोरखा जिल्लाको दरौंदी नदीमा जलविद्युत आयोजना निर्माण गरिने भएको छ। गोरखा नगरपालिका–१३ मा पर्ने दरौँदी नदीमा दुई अर्ब १९ करोड ९५ लाखको लागतमा अर्धजलासययुक्त जलविद्युत् आयोजना निर्माण गरिने भएको हो।
मनकामना दरौँदी हाइड्रोपावर कम्पनी लिमिटेडको प्रवर्द्धनमा निर्माण हुने आयोजना ९.८४ मेगावाट क्षमताको हुनेछ।
आयोजना निर्माण गर्दा कुल लगानीको ७० प्रतिशत ऋणबाट लगानी गर्ने र बाँकी स्वपुँजीअन्तर्गतको लगानी रहने बताइएको छ।
गोरखा–१२, १३ र १४, सहिद लखन गाउँपालिकाका(१, २ र ३ तथा पालुङटार नगरपालिका३ वडाका गरी आयोजनाले कुल चार सय ४० रोपनी क्षेत्रफल ओगट्ने छ । प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनअनुसार आयोजनाले खेतीयोग्य जमिन एक सय २३ रोपनी, दुई सय ९२ रोपनी बगर क्षेत्र, ३८ रोपनी स्थायी तथा अस्थायी जमिन र १७ रोपनी सामुदायिक वन क्षेत्रफल ओगट्ने छ ।