म्याग्दी। म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा साढे एक करोडको लगानिमा चिस्यान गृह निर्माण गरिएको छ। सिंगामा एक करोड ५१ लाख लागतमा तीन सय मेट्रिकटन क्षमताको शीतभण्डार निर्माण गरिएको हो।
कृषिउपज सङ्कलन, भण्डारण र व्यवस्थापनका लागि बेनी नगरपालिकाले शीतभण्डार निर्माण गरेको हो । शीतभण्डार निर्माणका लागि गत आर्थिक वर्षमा रु एक करोड ९० लाख विनियोजन गरिएको थियो । चिस्यान गृह निर्माणका लागि एक करोड ८३ लाख ४४ हजार तीन सय ७२ लागत अनुमान गरिएकामा राजेशबाबु निर्माण सेवाले एक करोड ५१ लख २० हजार सात सय ३८ मा निर्माण गर्ने गरी २०७९ फागुन तेस्रो साता ठेक्का सम्झौता गरेको थियो । गत असारमा यसका लागि तीन महिना म्याद थपिएको थियो ।
चिस्यान गृह निर्माण र उपकरण जडानको काम सकिएको छ। परीक्षण सफल र हस्तान्तरण भएपछि चिस्यान गृह सञ्चालन गर्ने तयारी गरेको बताइएको छ।
नगरपालिका र म्याग्दीका अन्य पालिकामा उत्पादन हुने कृषिजन्य उत्पादनको उचित व्यवस्थापनमा कोल्ड स्टोर सहयोगी बन्ने अपेक्षा गरिएको छ ।