काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणको सिनामंगलस्थित प्रधान कार्यालयको नवनिर्मित भवन उद्घाटन गरिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एक समारोहबीच प्राधिकरणको नवनिर्मित भवन उद्घाटन गरेका हुन्।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विभिन्न उतारचढावका बावजुद प्राधिकरण आजको अवस्थामा आईपुगको स्मरण गरे । आगामी दिनमा प्राधिकरण थप सुदृढ र व्यवस्थित हुँदै जानेमा उनले विश्वास व्यक्त गरे ।
पोखरा र भैरहवामा रहेका अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण कार्यक्षमतामा सञ्चालनका निम्ति सरकारले आफ्नो तर्फबाट आवश्यक पहल र अग्रसरता लिइरहेको उनले बताए ।
पहाडी जिल्लाहरूसहित देशभरिमा ३० वटा विमानस्थलले हवाइ सेवा प्रदान गरिरहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले ति विमानस्थलको पूर्वाधार विकास, अत्याधुनिक उपकरणहरूको प्रबन्ध लगायतका विषयमा गम्भीर ध्यान दिनुपर्ने आवश्यकता रहेको बताए । प्राधिकरणले आगामी दिनमा यस क्षेत्रमा थप मेहेनत गर्ने उनको भनाई छ ।
त्रिभुवन विमानस्थलको आधुनिकीकरण गर्ने गुरूयोजना अन्तिम चरणमा पुगेको समेत उनले जानकारी गराए । उक्त कार्यलाई तीव्रताका साथ अगाडि बढाउन उनले प्राधिकरणलाई निर्देशन पनि दिए ।