काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डिपी अर्यालले सरकारले देशका लागि आवश्यक आयोजना हो भनेर प्राथमिकतामा राखेर काम गर्न नसक्दा बूढीगण्डकी जलविद्युत् आयोजनाको काम अघि बढ्न नसकेको बताए।
शुक्रबार गृह जिल्ला धादिङ पुगेका सङ्घीय सांसद अर्यालले पत्रकार भेटघाटमा सरकारले देशको आवश्यकताको आयोजनाका सम्बन्धमा निर्णय गरेर अघि बढ्न नसक्दा बूढीगण्डकीको कामले गति लिन नसकेको आरोप लगाएका हुन्।
उनले सरकारले देशका लागि आवश्यक आयोजना हो भनेर प्राथमिकतामा राखे तुरुन्तै उक्त आयोजना सुरु हुने दाबी समेत गरे।
उनले भने, ‘सरकारले चासो र ग्यारेन्टी लिन पर्यो, अनि पो जनता ढुक्क हुन्छौँ । लगानी गर्ने वातावरण बन्छ अनि जनताकै पैसाले बूढीगण्डकी आयोजना बन्छ । विदेशी लगानी पनि चाहिँदैन। ”
मुआब्जा वितरण, कार्यालय स्थापना र व्यवस्थापनका नाममा भ्रष्टाचार भइरहेको उल्लेख गर्दै उनले समय गुज्दैँ जाँदा आयोजना बनाउन महँगो बन्ने सङ्केत देखिएको बताए ।
“बूढीगण्डकीलगायत ठूला आयोजना बन्नु भनेको देश समृद्धितर्फ लाग्नु हो । तर भाषणमै सीमित हुनुभन्दा काम गरे पो देश समृद्ध हुन्छ । त्यसैले रोकिएका मुआब्जा दिएर काम अघि बढाउनुपर्छ।”