काठमाडौं। नेपाल वायुसेवा निगमका उडानलाई हङकङ एयरपोर्टले १४ दिन प्रतिबन्ध लगाएको छ। काठमाडौंबाट कोरोना नेगेटिभको रिपोर्ट देखाएर उडेका यात्रु परीक्षणमा पोजिटिभ देखिएपछि १४ दिनका लागि प्रतिबन्ध लगाएको हो।
कोरोना परीक्षण रिपोर्टका कारण हङकङ एयरपोर्टले नेवानिका उडानमा पहिले पनि पटक पटक प्रतिबन्ध लगाउदै आएको थियो। निगमका एक उच्चपदाधिकारीले भने,पहिले पहिले पनि यस्तो भएकोमा सतर्कता अपनाइएको थियो। नियमित उडानको तालिका तय गरेको निगमले अब बिक्री गरिसकेका टिकटको रकम फिर्ता गर्नुपर्ने भएको छ। उडान प्रतिबन्धपछि यात्रुले चाहेको अवस्थामा टिकट रिफण्ड लिन सक्ने निगमले जानकारी दिएको छ।
हङकङ विमानस्थलले लगाएको प्रतिबन्धका कारण नेवानिले आगामी मंगलबार (नोभेम्बर ३०) र डिसेम्बर ७ तारिखका लागि निर्धारित उडान रद्द गर्नुपरेको छ। काठमाडौं,हङकङ,काठमाडौं,उडान अब डिसेम्बर ८ पछि मात्र हुने निगमका अधिकारीहरुले बताए।
स्वास्थ्य सुरक्षा पालनामा हङकङ सरकारले जारी गरेको मापदण्ड कडा भएका कारण निगम मात्र नभइ विभिन्न मुलुकका हवाई सेवा कम्पनीको उडानमा अस्थायी प्रतिबन्ध लाग्दै आएको छ। हप्तामा एउटा उडान हुँदै आएको काठमाडौं,हङकङ,काठमाडौं गन्तव्यमा दुईतर्फी अकुपेन्सी ९० प्रतिशत कायम हुँदै आएको निगमले बताएको छ।