काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले वातावरण सुहाउँदो विद्युतीय सवारी साधनको प्रवर्द्धनमा सरकारले ध्यान दिएको बताएका छन्। काठमाडौंको भृकुटीमण्डपमा जारी सवारी साधनहरुको मेला नाडा अटो शो–२०२३ को स्थलगत अवलोकन गरेपछि मन्त्री बस्नेतले सरकारले थप नीतिगत प्रबन्धका अलावा विद्युतीय सवारीसाधन प्रवर्द्धनका लागि थप सहजीकरण गर्ने बताएका हुन्।
उनले वातावरणको संरक्षणका साथै देशभित्रको बिजुलीको खपत बढाउनका लागि पनि विद्युतीय सवारी साधनको प्रवर्द्धन जरुरी रहेको बताए।विद्युतीय सवारी साधनको प्रवर्द्धनका लागि देशव्यापी रुपमा थप चार्जिङ स्टेसन निर्माणलाई पनि प्राथमिकता दिइएको उनले बताए।
निजी क्षेत्रले चार्जिङ स्टेसन निर्माण गर्न चाहेको खण्डमा आवश्यक सहजीकरण गरिएको, विद्युत् प्राधिकरणले प्रसारण प्रणाली तथा ट्रान्सफर्मर समेत प्रबन्ध गरिरहेको जानकारी दिँदै मन्त्री बस्नेतले युग सुहाउँदो विद्युतीय सवारी साधनको प्रवर्द्धनका लागि गर्न सकिने जति सबै काम गरिने दाबी गरे।
उनले प्राधिकरणले हालै मात्र देशभर ५१ वटा चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको जानकारी दिँदै क्रमशः देशभर नै थप त्यस्ता स्टेसन निर्माण गरेर विद्युतीय सवारी साधनको प्रयोगलाई बढावा दिने बताए। निजी क्षेत्रलाई सघन रुपमा चार्जिङ स्टेसन निर्माणका लागि लगानी गर्न आग्रह गर्दै मन्त्री बस्नेतले सरकार र निजी क्षेत्रको साझा प्रयासबाट मात्रै वातावरणको संरक्षण र बिजुलीको खपत बढाउन सकिने स्पष्ट पारे।